देउवासहित अग्रज नेतासँग तत्काल वार्ता र संवाद अघि बढाउन गगनलाई पूर्णबहादुरको सुझाव
काठमाडौं,१ असोज । नेपाली कांग्रेसका निवर्तमान उपसभापतिले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरेर पार्टीभित्रको एकता कायम गर्न पहल गर्न आग्रह गरेका छन्।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई सम्बोधन गर्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेतासँग तत्काल वार्ता र संवाद अघि बढाउन सुझाव दिएका हुन्।उनले थापाले पछिल्लो समय लिएको निर्णयको जगमा पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको दाबी गरेका छन्। पार्टी विभाजनको अवस्था आउन नदिन थापाले आफ्नै अग्रसरतामा देउवा र अन्य अग्रज नेतासँग संवाद थाल्नुपर्ने उनको भनाइ छ।
उनले आगामी असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी केही समयका लागि सार्नसमेत आग्रह गरेका छन्। दुईवटा अलग–अलग महाधिवेशनको प्रक्रिया अघि बढे कांग्रेसको विभाजन रोक्न कठिन हुने भन्दै उनले त्यसतर्फ गम्भीरतापूर्वक पुनर्विचार गर्न थापालाई आग्रह गरेका छन्।
कांग्रेसभित्रको विवाद र सम्भावित विभाजनले मुलुकको समग्र राजनीतिक स्थिरतामा समेत असर पार्न सक्ने भन्दै उनले अन्य राजनीतिक दलमा समेत विभाजनको अवस्था आउन सक्ने आशंका व्यक्त गरेका छन्। त्यसले जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्व निम्तिन सक्ने र राष्ट्रियता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्तामा चुनौती आउन सक्ने उनको चेतावनी छ।
उनले कानुन,अदालतको निर्णय वा पार्टी विधानका कारण थापालाई एकताको पहल गर्न अप्ठ्यारो नपर्ने विश्वास व्यक्त गर्दै विगतका घटनाक्रम र प्राप्त सुझावबाट शिक्षा लिएर निर्णायक कदम चाल्न आग्रह गरेका छन्।’सम्पूर्ण एकताको सिङ्गो कांग्रेसको सभापति बन्नुस’ भन्ने आग्रह गर्दै उनले पार्टीलाई विभाजनबाट जोगाउन अहिले नै साहसिक पहल आवश्यक रहेको बताएका छन्।




