तोकिएकै समयमा सहमति र एकताका साथ अधिबेशन सम्पन्न गर्ने सोलु कांग्रेसको सर्बसम्मत निर्णय



सोलुखुम्बु,१ असोज । नेपाली कांग्रेस सोलुखुम्बुले १५औँ महाधिवेशनलाई सहमति र एकताको महाधिवेशन बनाउने सर्वसम्मत निर्णय गरेको छ।

सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्वमा जिल्ला सदरमुकाम सल्लेरीमा बिहीबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले वडा तहदेखि प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई सहमति र एकताको अधिबेशन बनाउने निर्णय गरेको हो।

बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य आङगेलु शेर्पा, केन्द्रीय सदस्यद्वय छिण्डील्हमु शेर्पा र धर्म नेपाली, प्रतिनिधिसभा सदस्यद्वय प्रकाशसिंह कार्की र रिना उप्रेती केसी तथा पूर्व जिल्ला सभापति विनोद बस्नेतलगायतले आ-आफ्नो व्यक्त गरेका थिए। उनीहरुले जिल्लामा लामो समयदेखि देखिँदै आएको गुट–उपगुटको राजनीतिलाई अन्त्य गर्दै पार्टीलाई सहमतिको बाटोमा एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

बैठकले अधिवेशन सम्पन्न गर्न जिल्लाका ५२ वटै वडाका लागि प्रतिनिधि चयनसमेत गरेको छ। चयन भएका प्रतिनिधिलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिने नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ । बैठकले निर्धारित कार्यतालिकाभित्रै अधिबेशन सम्पन्न गर्ने निर्णय समेत गरेको जनाइएको छ।
कांग्रेसले तय गरेको कार्यतालिकाअनुसार ३ गते वडा, ७ गते पालिका तथा १० गते प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने छ ।

त्यसो त यसपटक जिल्लामा कांग्रेस क्रियाशील सदस्यता वितरणसमेत विवादरहित ढंगले सम्पन्न भएको छ। विगतमा क्रियाशील सदस्यता बितरण विवादकै कारण कांग्रेसका अधिवेशन तथा अन्य संगठनात्मक कार्यक्रम पटक–पटक प्रभावित हुने गरेका थिए।

१४ औँ जिल्ला अधिवेशनबाट सभापतिको जिम्मेवारी सम्हालेयता शेर्पाले पार्टीभित्रको गुटगत प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै सहमतिको अभ्यासलाई अघि बढाउन खोजेको देखिएको बिस्लेषकहरुको टिप्पणी छ । निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा गुटपिच्छे छुट्टाछुट्टै नाम पठाउने परम्पराको अन्त्य गरी सकेसम्म सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने अभ्यासलाई उनले प्राथमिकता दिएका कारण पछिल्लो समय जिल्लामा कांग्रेसले उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको उनीहरू बताउँछन्।

जेन्जी आन्दोलनपछिको जटिल राजनीतिक परिस्थितिमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित हुनु र त्यसअघि स्थानीय तह निर्वाचनमा जिल्लाका आठ पालिकामध्ये पाँच पालिकामा कांग्रेसले जित हासिल गर्नु त्यसैको परिणाम भएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्