लोककल्याणकारी विज्ञापनको रकम घटाउने निर्णय फिर्ता लिन प्रेस युनियनको माग
काठमाडौं,१ असोज । नेपाल प्रेस युनियनले पत्रपत्रिकालाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकम घटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा हालै बसेको आकस्मिक केन्द्रीय समिति बैठकले लोककल्याणकारी विज्ञापनको रकम घटाउने निर्णयप्रति विरोध जनाउँदै यस्तो माग गरेको हो।

बैठकले सरकारले गरेको उक्त निर्णयले आर्थिक रूपमा कठिन अवस्थामा रहेका सञ्चारमाध्यमलाई थप संकटमा पार्ने र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने निष्कर्षसहित निर्णय तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ।
सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा आर्थिक सहयोग सुनिश्चित गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठकले भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। विपत्तिमा परेका परिवारको तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत सामग्रीको प्रभावकारी वितरण गर्न संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ताको खोजी, घाइतेको निःशुल्क उपचार, विस्थापित परिवारलाई अस्थायी आवास तथा खाद्यान्नको व्यवस्था गर्न माग गरेको छ।
यस्तै, क्षतिको यथाशीघ्र उचित मूल्याङ्कन गरी आवश्यक पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रम अघि बढाउन पनि युनियनले सरकारसँग माग गरेको छ।
बैठकले नेपाल प्रेस युनियनका शाखाहरूको अधिवेशन निरन्तर अघि बढाउने निर्णय गर्दै केन्द्रीय समिति बैठक आगामी असोज १५ गते काठमाडौंमा आयोजना गर्ने तय गरेको छ।
यसैगरी, वरिष्ठ पत्रकार बसन्त प्रकाश उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै युनियनले पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च सम्मान गरेको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।




