टाक्सिन्दु माविका १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण
सोलुखुम्बु,३१ भदौ । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित टाक्सिन्दु माध्यमिक विद्यालयका १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।

मोनभिसो नेपाल फाउन्डेसन, काठमाडौंको समन्वय तथा Trentino For Langtang, Italy को सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सर्ट, पाइन्ट, स्वटर र जुत्ता वितरण गरिएको हो। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई न्यानो ज्याकेटसमेत उपलब्ध गराइएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा सोलु दूधकुण्ड नगरपालिका–१ का वडा अध्यक्ष छोङ्बा शेर्पाको प्रमुख आतिथ्यता तथा मोनभिसो नेपाल फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा, कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा र इटालीका नागरिक रोजारियो सालाको विशेष उपस्थितिमा विद्यार्थीलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको थियो।
२०७२ सालको भूकम्पपछि नेपालमा संस्था स्थापना गरी भूकम्पबाट क्षतिग्रस्त टाक्सिन्दु माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्दै आएको मोनभिसो नेपाल फाउन्डेसनले पछिल्लो समय विद्यालयको शैक्षिक विकासमा समेत निरन्तर सहयोग गर्दै आएको विद्यालयले जनाएको छ।
फाउन्डेसनले टाक्सिन्दु माविमा शिक्षक तथा विद्यार्थीका लागि होस्टेल निर्माण गर्नुका साथै विद्यालय भवन निर्माण, ल्यापटप, डेस्कटप, प्रोजेक्टर, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायतका शैक्षिक सामग्री उपलब्ध गराएको छ। संस्थाले दिलकुमारी छात्रावासअन्तर्गत छात्र र छात्राका लागि छुट्टाछुट्टै दुईवटा छात्रावाससमेत सञ्चालन गर्दै आएको छ। ती छात्रावासमा करिब ४५ देखि ५० जनासम्म बस्न सक्ने क्षमता रहेको विद्यालयले जनाएको छ।
त्यस्तै, फाउन्डेसनले आफ्नै खर्चमा माध्यमिक तहका लागि विज्ञान विषयका शिक्षकको समेत व्यवस्था गरेको छ। सोलुखुम्बुका विभिन्न विद्यालयमा आवश्यकता र प्राथमिकताका आधारमा फाउन्डेसनले विद्यालय भवन निर्माण, शैक्षिक सामग्री, प्रविधि, प्रयोगशाला, पुस्तकालय तथा विद्यार्थीका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जनाइएको छ।
दुर्गम क्षेत्रका विद्यालयमा भौतिक पूर्वाधारसँगै शैक्षिक सामग्री र प्रविधिको पहुँच विस्तारमा संस्थाको सहयोगले महत्वपूर्ण योगदान पुगेको विद्यालयका माध्यमिक तहका शिक्षक तथा सूचना अधिकारी शक्ति कुलुङले जानकारी दिए।


