नेचासल्यान गाउँपालिकाले भदौ १४ र १५ गते काठमाडौंमा सेवा प्रवाह शिविर सञ्चालन गर्ने



सोलुखुम्बु,८ भदौ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा अस्थायी रूपमा बसोबास गरिरहेका गाउँपालिकावासीलाई लक्षित गर्दै काठमाडौंमा सेवा प्रवाह शिविर सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाको भदौ १ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार अध्ययन,रोजगारीलगायत विभिन्न कारणले काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा बसोबास गर्दै आएका नागरिकलाई गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन शिविर सञ्चालन गर्न लागिएको हो।

भदौ १४ र १५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंको सुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा सञ्चालन हुने शिविरमा नेचासल्यान गाउँपालिकामा स्थायी ठेगाना भएका तर हाल काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका नागरिकले सेवा लिन सक्ने गाउँपालिकाद्वारा जारी गरेको सूचनामा उल्लेख छ।

शिविरबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्धविच्छेदलगायतका पञ्जीकरणसम्बन्धी सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
त्यसैगरी,२०८० सालभन्दा अगाडि घुम्ती शिविर तथा जिल्ला प्रशासन कार्यालयमा बनाइएका राष्ट्रिय परिचयपत्रका कार्ड वितरण, ज्येष्ठ नागरिक परिचयपत्र तथा वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिससमेत शिविरबाट उपलब्ध गराइनेछ।

गाउँपालिकाका अनुसार मिर्गौला प्रत्यारोपण गरेका,डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक रूपमा उपलब्ध गराइने रु.५ हजार पाउने सेवाग्राहीहरूको नवीकरणसमेत शिविरबाट गरिनेछ।

गाउँपालिकाले थप जानकारीका लागि सम्बन्धित वडाका अध्यक्ष तथा वडा सचिवसँग सम्पर्क गर्न आग्रह गरेको छ। सूचना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्