एमाले सचिवालयमा अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा रहेकाहरूको बहुमत



काठमाडौँ,९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सचिवालयमै अल्पमतमा परेका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित उपमहासचिव योगेश भट्टराई लगायतका थप पदाधिकारी खुलेपछि उनी अल्पमतमा परेका हुन् ।

शुक्रबार र शनिबार बोल्ने सचिवालयका १५ पदाधिकारीमध्ये ओलीको पक्षमा खुल्ने उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्र रहेको एक नेताले जानकारी दिए ।‘हिजो र आज बोलेका १५ जनामध्ये ओलीको पक्षमा स्पष्ट खुल्ने रामबहादुर थापा र महेश बस्नेत मात्र हुनुहुन्छ’, एक नेताले भने, ‘त्यसबाहेक अरू नेताले कुनै न कुनै रूपले अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने भनाइ राख्नुभएको छ ।’ उनका अनुसार भोलि बोल्नेहरूले पनि अध्यक्षको बचाउ गर्ने अवस्था छैन ।

महासचिव शंकर पोखरेलले कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिन अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । ‘अब यथास्थितिबाट पार्टी चल्दैन, पार्टी रिफर्मको आवाज ठुलो छ’, बैठकमा महासचिव शंकर पोखरेलले भने । शनिबारको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आ-आफ्ना कुरा राख्नेछन् ।

हिजो पहिलो दिन कुरा राखेका ५ उपाध्यक्षमध्ये ४ जनाले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने सुझाएका थिए । आज बैठक सुरु हुनुअघि महासचिव शंकर पोखरेलले आफूनिकटका पदाधिकारीसँग छलफल गरेर आफ्नो लाइन दिएको स्रोतको भनाइ छ । एमालेमा १९ सदस्यीय सचिवालय रहेको छ ।

जसलाई पदाधिकारी समेत भनिन्छ । गत पुसमा सम्पन्न ११ महाधिवेशन गरेर अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका ओलीमाथि ६ महिना नबित्दै पद छाड्न दबाब परेको छ । तर ओली पद छाड्न तयार छैनन् ।

सचिवालय बैठकमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने तथा संकटको बेला नेतृत्वमाथि हमला गर्नु नहुने ओलीले बताउँदै आएका छन् । तर सचिवालय सदस्यहरूले ओलीको कार्यशैलीका कारण ठुलो क्षति बेहोर्नुपरेको भन्दै राजीनामा गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्