१०० बिघा जग्गामा अयोध्याधाम निर्माणका गरिने



भरतपुर,१४ असोज । भगवान रामको जन्मस्थलका रूपमा दावी गरिएको चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि १०० बिघा जग्गाको ब्यबस्थापन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलिको निर्देशनमा मङ्गलबार बसेको नगर कार्यपालिका बैठकले सो जमिन छुट्याएको नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिए।
नगरप्रमुख ढकालका अनुसार वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए।
उनले सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिने बताए।
यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताए।
अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने बताए।
अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताए।
जमिनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्