आफ्नै पार्टीमा एक्लिए माओवादी केन्द्रका अध्यक्ष किराँती

काठमाडौं, १४ असोज । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको एकीकरणसंगै माओवादी केन्द्र पुनर्गठन गरेको घोषणा गरेका सो पार्टीका अध्यक्ष गोपाल किराँती यतिबेला अप्ठेरोमा परेका छन।किँरातीद्वारा लिखित ‘महान जनबिद्रोहको दर्शन’ नामक पुस्तकमा माक्र्सवादको चौथो संघठक अंगका रुपमा बिपश्यनालाइ ब्याख्या गरिएपछि उत्पन्न पार्टी विवादका कारण पुनर्गठित माओवादी केन्द्र बिभाजनको संघारमा पुगेको निकटस्थहरुको भनाइ छ।

लामो समयपछि गत शनिबारबाट सुरु भएको पार्टी पदाधिकारी बैठकले किरांतीको उल्लेखित धारणालाई अस्वीकार गरेको छ।बिपश्यना माक्र्सवादको चोथो संगठक अंगको रुपमा पछिल्लो समय पार्टीभित्र प्रस्ताव र वहस गरिएको विषय जनाउँदै नेकपा (माओवादी केन्द्र) ले त्यसलाई पार्टी कमिटीले स्वीकार गर्न नसक्ने जनाएको हो।
उक्त प्रस्तावलाई माक्र्सवादको मुल मर्म विपरित रहेको भन्दै नेकपा (माओवादी केन्द्र) का महासचिव कणजीत बुढाथोकीले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन ।
महासचिव बुढाथोकीले जारी गरेको विज्ञप्तीमा विपश्यनाको प्रस्तावबारे २०७६ जेष्ठ देखि आफ्नो पार्टीभित्र वहस हुँदै आएको भन्दै त्यसबारेमा पछिल्लो समयसम्म आउँदा पार्टीको आधिकारीक र औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
विपश्यनाबारे २०७६ जेष्ठको नेकपा (माओवादी केन्द्र) को राजनीतिक परिषद् (पोलिटव्यूरो) बैठकले प्रस्तावलाई अस्विकार समेत गरेको छ साथैं २०७७ अश्विन १० गते बसेको पदाधिकारी बैठकले समेत यसअघि पोलिटव्यूरो बैठकले गरेको निर्णयलाई नै कायम राखेको छ विज्ञप्तीमा जनाइएको छ ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘विपश्यना बुद्ध दर्शनको एउटा पक्ष भएपनि माक्र्सवादको चौथो संगठक अंगको रुपमा लागु पर्न र स्थापित गर्न खोज्नु भनेको माक्र्सवाद विपरित जानु हो भन्नेमा हाम्रो पार्टीको ठहर छ । यसबारे हाम्रो पार्टीको आधिकारीक धारणा यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।’
उक्त प्रस्ताव माक्र्सवाद विपरित भएको तर्क गर्दै विज्ञप्तीमा अगाडी भनिएको छ–‘माक्र्सवादको संगठक अंगहरुले साझा र समान ढंङ्गको सार्वभौमिक मान्यता दिएको छ भने विशिष्टतामा फरक देखाउँछ । माक्र्सवादको संगठक अंगहरुले सर्वहारावर्गिय अधिनायकत्व, बल प्रयोगको सिद्धान्त, वर्गसंघर्ष र ऐतिहासिक भौतिकवादी मान्यता स्विकार्छ । विशिष्ट रुपमा दर्शन अर्थशास्त्र र वैज्ञानिक समाजवादले फरक फरक ढंगले अलग अलग विषयको वकालत गर्दछ । त्यस्तै समग्र र अंशमा संयोजन गर्न पुग्दछ । यसमा विपश्यनाको प्रस्ताव मेल खाँदैन, यो माक्र्सवादको मुल मान्यता विपरित हुन्छ ।’
क्रान्तिको बाँकी कार्यभार पुरा गर्नका लागि बदलिएको परिवेश अनुसार माक्र्सवादको मूल मर्म र मान्यता प्रति प्रतिवद्ध रहँदै सिर्जनशिल ढंगको माक्र्सवादको विकास र प्रयोग गनुृपर्ने अनिवार्य शर्त बन्न पुग्नु स्वभाविक रहेको र त्यो दायित्व माओवादीको काँधमा आएको समेत विज्ञप्तीमा जनाइएको छ ।
महान जनयुद्ध र जनआनदोलनको क्रममा सहादत हुने सहितहरु, योद्धा, अपाङ्ग, वेपत्ता र लाखौं लाख जनसमूदायको उच्च समर्थनबाट प्राप्त राजनीतिक उपलब्धीलाई सस्थागत गदैं क्रान्तिको बाँकी कार्यभार पुरा गर्न नेकपा (माओवादी केन्द्र) हर चुनौतीको सामना गर्न प्रतिबद्ध र संघर्षशिल रहेको विषय समेत उक्त विज्ञप्तीमा जनाइएको छ ।
पार्टीभित्र उक्त प्रस्तावबारे वहस चल्दै गर्दा उक्त विषयमा अध्यक्ष गोपाल किरातीद्धारा लिखित पुस्तक आएपछि त्यसलाई पार्टीको आधिकारीक धारणा नभएको भन्दै यो विज्ञप्ती सार्वजनिक गरिएको देखिन्छ ।

