उत्तरबाहिनी मोक्षधाम ॠषिकुटी साहित्य अनुष्ठानले आयोजना गर्‍यो सांस्कृतिक तथा साहित्यिक कार्यक्रम



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु, २० फागुन। उत्तरबाहिनी मोक्षधाम ॠषिकुटी साहित्य अनुष्ठान नेचासल्यान-३ ले सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

होलि पर्वको अवसरमा सोमबार मासखोरियामा सो कार्यक्रम आयोजना गरिएको हो । अप्रतियोगितात्मक रूपमा साहित्यिक तथा प्रतियोगितात्मक रूपमा सांस्कृतिक लोकदोहोरी कार्यक्रममा सञ्चालन भएको थियो। प्रतियोगितात्मक लोकदोहोरी प्रतियोगितामा छिमेकी गाउँपालिका थुलुङ दुधकोशी र नेचासल्यानका वडा नं २,३ र ४ का लोक कलाकारहरुले दोहोरी गीत प्रस्तुत गरेका थिए ।

९ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा लोस्कु सेवा समूह प्रथम, चक्रवर्ती समूह द्वितीय र बेंसी भदौरे समूहले तृतीय स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः दुई हजार,एक हजार पाँच सय र एक हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

साहित्य र सृजना नेपालको पहिचान, विकासमा निरन्तरता हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन गरिएको सो कार्यक्रम जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता,साहित्यकार तथा शिक्षकत्रय खगिन्द्रराज बास्तोला, होमाकुमारी खतिवडा, शम्भु प्रसाद निरौला, साहित्यकार सुबास जमरकट्टेल, सिंहदेवी सेवा समाजका अध्यक्ष निरकुमार फयल,कोषाध्यक्ष बालकृष्ण कटेल, साबिक नेचा बेतघारी गाविसका तत्कालीन अध्यक्ष लिलाराज फयल,महबीर डुम्रे सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तोयानाथ कटेल, कालिका आविका प्रधानाध्यापक होमप्रसाद कटेल, जालपा आविका व्यवस्थापन समिति अध्यक्ष युवराज राई लगायतको उपस्थितिमा सञ्चालन भएको कार्यक्रममा संस्थाको संस्थागत प्रतिवेदन सचिव कृष्ण प्रसाद कटेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरौलाले पूर्वीय दर्शन अनुसार वैदिक संस्कार र अध्यात्मवाद्को प्रमुख स्थान रहेको हिन्दु धर्म, संस्कृति र परम्पराले नेपाली पहिचान दिलाएको भन्दै साहित्य,संस्कृति र संगीत कलाको माध्यमबाट लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन अनुष्ठानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रम उत्तर बाहिनी मोक्ष धाम ॠषिकुटी साहित्य अनुष्ठानका अध्यक्ष ठगेन्द्र कुमार जमरकटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सो संस्था वि.सं.२०७९ मा बिधिवत् रूपमा दर्ता भइ पछिल्लो वर्षबाट औपचारिक रूपमा सक्रिय भएको थियो । सो संस्थाले फागु पुर्णिामाको अवसरमा हरेक वर्ष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्