नेपाल आईडी र सोलुखुम्बु इनिसियटिभबीच सोलुखुम्बुका विद्यार्थीका लागि १५ लाखको छात्रवृत्ति कोष स्थापना गर्ने सम्झौता सम्पन्न
काठमाडौं, १४ असार । नेपाल आईडी (Nepal ID) र सोलुखुम्बु इनिसियटिभ (Solukhumbu Initiative) बीच सोलुखुम्बु जिल्लाका विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले १५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने सम्झौता भएको छ।

कोशी प्रदेशका पूर्बराज्यमन्त्री एबम एमाले नेता उत्तमकुमार बस्नेतको उपस्थितिमा आइतबार सो सम्बन्धि सम्झौतापत्रमा नेपाल आईडीका अध्यक्ष डा. थमन बास्तोला र सोलुखुम्बु इनिसियटिभका सचिव नवराज बास्तोलाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल आईडीले उपलब्ध गराएको १५ लाख रुपैयाँलाई मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) का रूपमा राखिनेछ। उक्त रकमको मूलधन खर्च नगरिने र त्यसबाट प्राप्त हुने ब्याजबाट मात्रै छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार छात्रवृत्ति छनोट,वितरण,अभिलेख व्यवस्थापन तथा वार्षिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी सोलुखुम्बु इनिसियटिभले वहन गर्नेछ। साथै छात्रवृत्ति वितरण प्रक्रिया पारदर्शी,निष्पक्ष र उद्देश्यअनुरूप हुने सुनिश्चित गरिने उल्लेख गरिएको छ।
नेपाल आईडीले छात्रवृत्ति कार्यक्रम तथा कोषको आर्थिक अवस्थाबारे वार्षिक प्रतिवेदन प्राप्त गर्नेछ भने कार्यक्रमको प्रभावकारिता, पारदर्शिता र कार्यान्वयनको दुवै पक्षले प्रत्येक दुई वर्षमा संयुक्त रूपमा समीक्षा गर्ने सहमति भएको छ।
सम्झौतामा कुनै पनि पक्षले सम्झौता अन्त्य गर्न चाहेमा कम्तीमा ६ महिनाअघि लिखित जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। सम्झौता अन्त्य भएमा १५ लाख रुपैयाँको मूलधन नेपाल आईडीलाई फिर्ता गरिनेछ भने त्यस अवधिसम्म प्राप्त ब्याज रकम भने छात्रवृत्ति कार्यक्रममै खर्च गरिने उल्लेख छ। सम्झौतापत्रमा सम्झौता २०८३ असार १४ गते (जुन २८, २०२६) देखि लागू भएको जनाइएको छ

