विकासप्रेमी युवा नेता गुमाउनु पर्दा गाउँपालिकालाई अपूरणीय क्षति: अध्यक्ष राई

सोलुखुम्बु, ६ असोज । माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले वडा नम्बर ५ का वडाअध्यक्ष निमराज तामाङको अकल्पनीय निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताएका छन् ।
मंगलबार शोक विज्ञप्ति प्रकाशित गर्दै राईले समृद्ध गाउँपालिका निर्माणका लागि तामाङले खेल्नु भएको भूमिका सदैव स्मरणीय रहेको बताउँदै एक विकास प्रेमी, उर्जाशील निष्ठावान र कुशल नेतृत्व गुमाउनु पर्दा सम्पूर्ण गाउँपालिका परिवार स्तब्ध भएको उल्लेख गरेका छन् ।
अध्यक्ष राईले गाउँपालिकाले विकास निर्माणको कार्यमा उहाँको अनुपस्थितिको अभाव सधैं रहने उल्लेख गर्दै स्वर्गीय तामाङको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा ईश्वरले धैयैधारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्ने कामना समेत गरेका छन् ।
३९ वर्षीय तामाङको मंगलबार विहान ९ बजे जिल्ला सदरमुकाम सल्लेरीमा रहेको आफ्नो घर नजिकै करेन्ट लागेर मृत्यु भएको थियो । सल्लेरी च्याल्सा विद्युतको हाइटेन्सन लाइनको तारमा फलामको रडले छुँदा करेन्ट लागेर मृत्यु भएको थियो ।
नेकपा नेता समेत रहेका तामाङको शव अहिले जिल्ला अस्पताल फाप्लुमा रहेको छ । स्वर्गीय तामाङका श्रीमती सहित एक छोरा र एक छोरी छन् ।



