राप्रपाले छोड्यो चुनाब चिन्ह गाइ

काठमाडौं, ६ असोज । पार्टी एकतालाई जोगाउन चुनाव चिन्ह गाई त्याग्ने निर्णय कमल थापा समूहले गरेपछि राप्रपाको चुनाव चिन्ह अबदेखि हलो हुने भएको छ। छ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सोमबार सैद्धान्तिक सहमति गरेको हो । एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको राप्रपा एक अध्यक्षले जानकारी दिए । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

ती अध्यक्षका अनुसार कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिएका थिए । चुनाव चिह्नबारे औपचारिक निर्णय भने मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकले गर्ने एक नेताले जानकारी दिए ।

