चैतदेखिको तलबसुबिधा माग गर्दै संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित



काठमाडौं, ५ असोज । संस्थागत विद्यालय शिक्षक यूनियन (ईस्टु) ले आन्दोलनको घोषणा गरेको छ। आफूहरूले अघि सारेका दश बुँदे मागहरु पूरा गराउनको लागि चरणबद्ध आन्दोलन कार्यक्रमहरु घोषणा गरेका हुन्।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर (इस्टु) ले असोज ९ गतेसम्म सबै महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपालिकाहरुमा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एन-प्याब्सनलाई स्मरणपत्र पनि बुझाउने भएको छ।
अघि सारेका आन्दोलनका कार्यक्रमहरु असोज ११ देखि १३ सम्म मानव संसाधन विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयमा ज्ञापनपत्र दिने, प्रदेशमा सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र दिने, असोज १५ गते सबै महानगरपालिका, उप-महानगरपालिकामा १ दिने धर्ना दिने र असोज १८ गते देशभरका प्रमुख सहरहरूमा विरोध र्‍याली निकालेर कोणसभा गरिनेछ।
कार्यक्रममा ईस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक/कर्मचारीहरूलाई अहिलेसम्मको खाई/पाई आएको तलबसुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्नेमा जोड दिए। त्यस्तै, उनले निष्कासित शिक्षक तथा कर्मचारीहरूलाई पूनर्वहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक/कर्मचारीहरूका हकअधिकार सुनिश्चितता गरिनुपर्ने र ऐन,नियम र कानूनमा भएका प्रावधानहरु अक्षरंश पालना गरिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्