मन्त्रिमण्डल हेरफेर : सचिवालय बैठकमा तीनथरी मापदण्डबारे छलफल केन्द्रित



काठमाडौं, ५ असोज ।आइतबारबाट सुरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ ।

आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का सदस्यको हेरफेरका विभिन्न विकल्पलगायत विषयमा छलफल भएको थियो । विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले प्रदेश र संघीय सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेपछि सचिवालय बैठकमा छलफल सुरु भएको हो।

प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल पुनर्गठनका सम्बन्धमा सुझाव मागेपछि सचिवालय सदस्यहरुले आ-आफ्नो सुझाव दिएको महासचिव विष्णु पौडेलले बताए।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा मन्त्री मण्डल पुनर्गठनका सम्बन्धमा नेताहरूले फरकफरक धारणा राखेको अर्का एक सचिवालय सदस्यले बताए। पहिलो मोडलमा प्रधानमन्त्री मात्रै राखेर सबै मन्त्रीलाई फालेर नयाँ मन्त्रीलाई जिम्मेवारी दिएर पुनर्गठन गर्नु पर्ने सुझाव दिएको छ। यस्तो गर्दा आम जनतामा नयाँ सन्देश जाने भएकाले काम गर्न सहज हुने सुझाव दिएको छ। दोस्रो मोडलको रुपमा मन्त्री भएको २ वर्ष पुगेकालाई बिदाई गरेर पुनर्गठन गर्नुपर्ने र तेस्रो मोडलको रुपमा रिक्त मन्त्रालयलाई मन्त्रीको जिम्मेवारी दिने विषयमा सुझाव दिएको ती सचिवालय सदस्यले बताए।
मंगलबार बस्ने सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनकै सम्बन्धमा छलफल भई एउटा निष्कर्षमा पुगिने नेताहरूले बताएका छन्। सचिवालय बैठकबाट सबै नेताहरुको सुझावलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीलको तयारी छ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको जनाइको छ । बैठक सोमबार अपराह्न पुनः बस्नेछ । स्थायी कमिटीको गत बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारितपछि विवाद टुङ्गिएको थियो ।
स्थायी कमिटीको सो बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।
सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्