बजेटको सदुपयोग गर्न नसक्दा सोलुदुधकुण्ड नगरपालिका बिकासमा पछि परेको आरोप



सोलुखुम्बु ,३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीका सदस्य एबम १ नम्बर प्रदेश पार्टी संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलु दुधकुण्ड नगरपालिकाको वडा नं ११ को मुंडेमा खानेपानी आयोजनाका लागि २० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन।

नगरपालिकाको ११ नं वडा कमिटीद्वारा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट साथै ट्रेड युनियन महासंघ वडा कमिटी गठन कार्यक्रमलाई तिङलामा सम्बोधन गर्दै प्रदेश प्रमुख सचेतक राजभण्डारीले सो घोषणा गरेका हुन। उनले खानेपानी योजनाका लागि प्रदेश १ सरकारबाट बिनियोजित रकममध्ये २० लाख रुपैयाँ सो योजनाका लागि प्रदान गर्न लागेको जानकारी पनि दिए।

सांसद राजभण्डारीको पहलमा नगरपालिका वडा नं ८ मा पनि खानेपानी योजनाका लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ। आफू प्रदेश सांसद भएपनि समग्र जिल्लाको बिकासका लागि सक्दो प्रयास गरिरहेको बताउंदै राजभण्डारीले संघीय र प्रदेशबाट प्राप्त बजेटको सदुपयोग नेतृत्वले गर्न नसक्दा सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड बिकास निर्माणका हिसाबले निकै पछि परेको आरोप लगाए।

पार्टी जिल्ला कमिटीका अध्यक्ष मानबीर राइको प्रमुख आतिथ्य,तथा प्रदेश सांसदहरु बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेतको बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रमका बक्ताहरुले बिकास निर्माणमा जिल्लाका अन्य तहहरुभन्दा उदाहरणीय बन्नु पर्ने नगरपालिका नेतृत्वको अराजनीतिक र अराजकताको चक्रब्यूहमा फसेको बन्दै नेपाली कांग्रेसले फैलाउन खोजीरहेको सामाजिक बिद्वेष र बिभाजन रोक्नका लागि नेकपा प्रयत्नरत रहेको बताएका थिए।

सोलु दुधकुण्ड नगरपालिका ११ नं वडा कमिटीका अध्यक्ष नरबहादुर कट्वालको अध्यक्षतामा सम्पन्न कार्यक्रमले हेमन्तराज गुरुङ संयोजक र बिशाल मगर सह संयोजक रहेको २९ सदस्यीय ट्रेड युनियन महासंघ वडा कमिटीको गठन गरेको छ।

पार्टी जिल्ला कमिटी सचिब गोम्बु शेर्पा ‘कर्ज्याङ’ सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, पार्टी नगर कमिटीका अध्यक्ष रामकाजी श्रेष्ठ, नेकपा जिल्ला नेताहरू सदस्य सोभित बस्नेत, वीरूदास श्रेष्ठ ,  डीबी रानापाल, मोहनकुमारी कार्की , नाम्गेल शेर्पा, युबा संघ नेपाल सोलुका सहसंयोजक योगेश श्रेष्ठ र नगर संयोजक प्रकाश कार्कीको उपस्थिति रहेको सो कार्यक्रममा सोही वडाका ८३ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका नेता किशोर कटुवालले रहस्यखबरलाइ बताए।

प्रतिक्रिया दिनुहोस्