कोभिड-१९ को उपचारमा आयुर्वेदिक औषधिको क्लिनिकल परिक्षण गरिने

काठमाडौं, २८ भाद्र । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक तथा रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ ।

डा. पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’
उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु (सुठो, पिप्ला र मरीच) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो ।’
डा. पटेलका अनुसार यो औषधि नयाँ भने होइन । ‘सदियौंदेखि प्रयोग हुँदै आएको औषधि हो । घाँटी खसखस गर्दा, रुघाखोकी लाग्ने समस्या यसले निको पार्छ । त्रिकटुले जीउ दुखेमा निको पार्नुका साथै भोक पनि जगाउँछ,’ उनले भने ।
यी औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीको अवस्था गम्भीर नहोस् भनेर दिइने गरिन्छ । ‘विभिन्न आइसोलेसन र आयुर्वेदिक अस्पतालमा यी औषधिको प्रयोगले बिरामीमा सकारात्मक प्रभाव पनि देखिएको छ । प्रदेश १, २, ५ आदिमा यो प्रयोग भइरहेको छ,’ उनले भने ।
आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदिक औषधिले कोभिड–१९ निको पार्छ भनेर ग्यारेन्टी गरिएको छैन । तर, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भने बढाउने समाचार बुनु थारुले आजको कान्तिपुर दैनिकमा लेखेका छन।

