प्रधानमन्त्री कार्की : भारतीय प्रधानमन्त्री मोदीसंगको फोन वार्ता लगत्तै चिनियाँ राजदूतसंग भेट
काठमाडौँ,२ असोज । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् ।

भेटमा छिमेकी देश भएको नाताले नेपाललाई हरेक प्रकारको सहयोग गर्न चीन तयार रहेको धारणा राख्दै राजदूत सोङले नेपाली जनताले गरेको आन्दोलनलाई स्वागत गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले पनि नेपाल चीनसँग सहकार्य गर्न तयार रहेको र यो बेलामा आवश्यक सहयोगको अपेक्षा गरेको धारणा राखेकी थिइन। ।
मंगलवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए ।
यसअघि प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराउनुभएको थियो ।
यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्नुभएको थियो । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आउँदो दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको थियो ।
छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

