६ दलका नेताले गरे संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गर्न राष्ट्रपतिसंग आग्रह
काठमाडौं,२७ भदौ । विभिन्न ६ दलका दोस्रो तहका नेताहरुले संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसंग माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले संयुक्त वक्तब्य जारी गर्दै संविधानको पुनरावलोकन गरी संविधानमा गर्नुपर्ने सुधारका विषयहरूलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न सो समिति गठन गर्न आग्रह गरेका हुन्।
संयुक्त वक्तव्यमार्फत उनीहरूले वर्तमान राजनैतिक संकट समाधान गर्न राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउँदै बक्तब्यमा देशमा विद्यमान विषम् परिस्थितिलाई समाधान गर्न, शान्ति सुरक्षा कायम गर्न र समाधानको लागि सहयोगी बन्न प्रतिबद्ध रहेको बताएका छन् ।
वक्तव्यमा भनिएको छ, “राष्ट्रमा उत्पन्न असामान्य परिस्थितिको अन्त गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन जेनजीको भावनाअनुरूप संविधानसम्मत ढंगले अन्तरिम सकार गठन गर्न अनुरोध गर्दछौँ ।”
आन्दोलनको क्रममा भएको जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, व्यक्तिकेन्द्रित हमलालगायतको छानबिन गरी दोषी यकिन गर्न र कानुनको दायरामा ल्याउन एक शक्तिशाली आयोग गठन गर्न पनि उनीहरूले माग गरेका छन् ।
भ्रष्टाचारको अन्त गर्न राज्यको उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गर्न वक्तव्यमार्फत माग गरिएको छ ।
विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमा समाधान गर्ने पहलमा कमी भएको तथा पार्टीमा लोकतान्त्रिक मूल्य स्थापित गर्न नसक्नुमा आफूहरूको कमजोरी भएको भन्दै क्षमायाचना समेत गरेका छन् ।

