संसद्बाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा पूर्ब विद्यार्थी नेताहरुको जोड
काठमाडौं,२६ भदौ । पूर्वविद्यार्थी नेताले संसद्बाटै राजनीतिक निकास खोज्न आग्रह गरेका छन् । बिहीबार (भदौ २६) संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संसद्बाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “जननिर्वाचित संसद् जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भएकाले प्रतिगामी तथा केही अवाञ्छित तत्त्वहरूबाट गरिएको संसद् विघटन गर्ने मागलाई दृढतापूर्वक अस्वीकार गरी आमजनता र युवाहरूको भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्नेजस्ता मागलाई सम्बोधन गर्न संसद्भित्रबाटै नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउनु आजको वास्तविक यथार्थ र आवश्यकतामा जोड दिन चाहन्छौँ ।”
प्रदर्शनका क्रममा राष्ट्रको सम्पत्ति जलाउने, जनधनको क्षति पुर्याउने, लुटपाट गर्ने सम्पूर्ण व्यक्तिहरूलाई कारबाही गर्न शक्तिशाली स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी कारबाही, गैरकानुनी सम्पत्ति जफत र भ्रष्टाचारमा संलग्नलाई कडा कानुनी कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।
नैनसिंह महर, राजीव ढुंगाना, माधव ढुंगेल, नवीना लामा, नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, पञ्चा सिंह, सुदेश पराजुली, आरती लामा, अनिलकिशोर घिमिरे, विमल पोखरेल र रूपनारायण श्रेष्ठले संयुक्त वक्तव्य जारी गरेका हुन् ।
कुनै पनि बहानामा थप हिंसा र मुठभेडको स्थिति सिर्जना नगर्न उनीहरूले सबै पक्षलाई आग्रह गरेका छन् ।

