भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह



काठमाडौँ,२६ भदौ । जेनजी प्रदर्शनको क्रममा भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह गरेको छ ।

कैदीबन्दी र बलबिज्याईंकर्ताहरुलाई सम्पर्कमा आउन आग्रह गर्दै विभागले सम्पर्कमा नआउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘सम्पर्कमा नआए कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’

त्यस्तै विभागले देशभरका कारागार र बालगृहलाई सर्कुलर पठाएर फरार भएर अर्को जिल्लामा सम्पर्कमा आएका र पक्राउ परेका कैदीबन्दीलाई सोही जिल्लाको कारागारमा राख्न भनेको छ ।

स्थिति सामान्य भएपछि सम्बन्धित कारागारमा स्थानान्तरण गर्ने गरी अहिले कैदीबन्दीलाई फेला परेको जिल्लाकै कारागारमा राख्ने व्यवस्था मिलाउन भनिएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

जेनजी प्रदर्शनपछि २५ वटा कारागारबाट करिब १० हजार कैदीबन्दी भागेका छन् । कारागार कार्यालय डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी र धादिङ लगायतका जिल्लाबाट कैदीबन्दी भागेका हुन् ।

काठमाडौँको केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारबाट पनि कैदीबन्दी भागेका छन् । डिल्लीबजार कारागारमा आगजनी गरेर भाग्न खोजेका कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएर अड्डासार गरेको छ ।

कारागारबाट फरार भएका मध्ये सप्तरीबाट ४ जना, सुनसरीबाट २ सय २ जना, रुकुम पश्चिमबाट ४३ जना र कपिलवस्तुबाट ५० जनालाई नियन्त्रण लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । म्याग्दी कारागारबाट भागेका ४ जनालाई सेनाको टोलीले नियन्त्रणमा लिएको छ ।

कारागारबाट फरार भएकाहरू मध्ये कतिपय आफैँ फर्किरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्