नेराशि सङ्गठन धादिङले मनायो विश्व साक्षरता दिवस
लावण फुयल
धादिङ, भाद्र २३
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति धादिङले विश्व साक्षरता दिवसको अवसरमा कविता लेखन तथा वाचन कार्यक्रम आज एक समारोहका वीच सम्पन्न गरेको छ । हाल विश्वमा देखिएको कोभिड १९ को महामारीमा नेपालमा समेत गरिएको बन्दाबन्दीलाई मध्यनजर गर्दै विगतका वर्षहरुमाभन्दा फरक वा जुम भर्चुअल प्रविधिको प्रयोगबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुको फरक फरक काव्य रचना र वाचनलाई सर्जकहरुले अनलाइनमार्फत् प्रस्तुत गरेका थिए ।
सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको र त्यही अनुरुप नेपालमा पनि विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस मनाउने गरिएको सन्दर्भमा नेराशि सङ्गठन धादिङले पनि विद्यार्थी तथा शिक्षकका प्रतिभाहरुलाई काव्यमार्फत् प्रस्फुटन गराउन उक्त कार्यक्रम आयोजना गरिएको सङ्गठन जिल्ला समिति, धादिङका अध्यक्ष ठानप्रसाद बस्यौलाले रहस्य खवरलाई वताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले विद्यार्थी तथा शिक्षकहरुमा सिर्जनात्मक क्षमताको वृद्दि र नवस्रष्टाहरुको खोजी गर्न उक्त कार्यक्रम प्रभावकारी रहेको बताउँदै नेपाली कला, संस्कृति र साहित्यको जगेर्ना गर्नु आम नागरिकको प्रमुख दायित्व रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, धादिङका प्रमुख अम्बिका आचार्य, नेराशि सङ्गठन आवद्ध विभिन्न जिल्लाका अध्यक्ष लगायत गाउँ तथा नगर समितिका पदाधिकारीहरु, राष्ट्रिय समितिका पदाधिकारीहरु र सयौंको संख्यामा साहित्यिक स्रष्टाहरुको सहभागिता रहेको थियो ।
कविता लेखन तथा वाचन कार्यक्रममा शिक्षकतर्फ वेनिघाट रोराङ गाउँपालिका, वेनी शिक्षा सदनका महान त्यागी प्रथम, सरस्वती विद्या गृहका हेमन्त ढुङ्गाना द्धितीय, आदर्श मा.वि का विष्णु गौतम तृतीय र डिल्ली सावित्री मा.वि का सरस पाण्डेले सान्त्वना स्थान प्राप्त गरेका थिए भने विद्यार्थीतर्फ सुनखानी मा वि का सिर्जना आचार्य प्रथम, सत्यवती मा.वि का प्रार्थना तामाङ द्धितीय, आदर्श मा. वि. का अपेक्षा ढुङ्गाना तृतीय र वागेश्वरी मा.वि. का निकिता अधिकारीले सान्त्वना स्थान हासिल गरेका थिए । उक्त कार्यक्रममा शिक्षकतर्फ २१ जना र विद्यार्थीतर्फ १८ जनाले प्रतियोगीको रुपमा सहभागिता जनाएका थिए । विजेताहरुलाई नगद पुरस्कार क्रमशः प्रथम रु. ५०००।–, द्धितीय रु. ३०००।–, तृतीय रु. २०००।– र सान्त्वना रु. १०००।– र प्रशंसा पत्रले सम्मान गरिएको थियो । नगद पुरस्कारबापत्को रकम त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ स्थायी बसोबास भई हाल ओमनको क्यालिफोर कम्पनीका शाखा प्रबन्धक कमल दनैले उपलब्ध गराउने प्रतिबद्दता व्यक्त गरेका छन् ।


