जेन ‘जी’ पुस्ताको आन्दोलन उग्र, बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी
काठमाडौँ,२३ भदौ जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जेनजी समूहको प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगाएको हो।

प्रशासनले दिएको जानकारी अनुसार, सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू हुनेछ। यस अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि सभा, जुलुस, प्रदर्शन, बैठक वा भीडभाड गर्न नपाइने आदेश जारी गरिएको छ।
अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी रहेको छ ।जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनको क्रममा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते भएका प्रहरीलाई प्रहरी र प्रदर्शनकारीले उपचारको लगेका छन्।प्रदर्शनमा नेपाल प्रहरीले रबरको गोली चलाउँदा छ/सात जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

