आज सडकमा ओर्लदैं ‘जेन जी’ पुस्ता,विभिन्न राजनीतिक दलदेखि स्वतन्त्र अभियान्ताहरुको नैतिक समर्थन
काठमाडौं,२३ भदौ । समसामयिक विभिन्न मागहरू राखेर‘जेनेरेसन जेड’ भनेर चिनिने नयाँ पुस्ता आज सडकमा उत्रिने भएको छ ।

सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल बिनासर्त पुनः सक्रिय बनाउनुपर्ने,अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अदालतका न्यायाधीशका लागि राजनीतिक नियुक्ति रोक्नुपर्ने,बुढा नेताहरूले पुनः प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने लगायतका माग राखेर काठमाडौंको माईतीघरमा भेला भएर सो पुस्ताले आज सडक प्रदर्शन गर्न लागेको हो।
नेपाल सरकारले केही दिनअघि सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० अनुरूप सूचीकरण नभएका फेसबुक लगायत सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने निर्णय गरेपछि भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएर सडकमा ओर्लन लागेको यो पुस्ताको प्रदर्शनलाई कौतुहलतापूर्बक हेरिएको छ ।
उनीहरूको यो आन्दोलनलाई विभिन्न राजनीतिक दलदेखि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र स्वतन्त्र नागरिकहरुले समर्थन गरेका छन् । आन्दोलन शान्तिपूर्ण रूपमा हुने र यसमा सबै विचारधाराका युवाहरूलाई स्वागत गरिएको आयोजकले जनाएको छ।

