इम्बोस्ड नम्बर,राष्ट्रिय परिचयपत्र र स्मार्ट लाइसेन्स बहिष्कार गर्न सात कम्युनिस्ट घटकको अपिल
काठमाडौं,१६ भदौ। विभिन्न सात कम्युनिस्ट घटकले इम्बोस्ड नम्बर,राष्ट्रिय परिचयपत्र र स्मार्ट लाइसेन्स बहिष्कार गर्न अपिल गरेका छन् ।

उखु किसानको आन्दोलन,एलिसा गहतराजमाथि भएको जातीयविभेद, इम्बोस्ड नम्बर र राज्यको नीतिगत भ्रष्टाचारप्रति आफ्नो धारणा सार्बजनिक गर्न सोमबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै उनीहरूले सो अपिल गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी, नेपाल, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), नेकपा (विद्रोही),नयाँ जनवादी मोर्चा नेपालद्वारा जारी सो प्रेस बिज्ञप्तिमा भनिएको छ,- ‘नेपालको प्रतिक्रियावादी संसद र सरकारले विदेशीसँग गठबन्धन गरी कमिसनमा राष्ट्रिय परिचयपत्र र स्मार्ट लाइसेन्स अनिवार्य गरेको छ र पछिल्लो पटक इम्बोस्ड नम्बर अनिवार्य गर्न समय सिमा तोकेको छ । यसप्रति हाम्रो संयुक्त र सख्त खबरदारी रहेको छ कि, यि कदमहरु स्वाधीनता विरोधी र राष्ट्रघाति कदम हुन,जसले देशको भाषा-लिपिमाथि रणनीतिक आक्रमण गर्छ, राष्ट्रिय सुरक्षा रणनीति र जन – गोपनियतालाई ध्वस्त गर्छ, राष्ट्रको डाटामाथि विदेशी प्रभुत्व कायम गर्छ, जन चेतनाको ऐतिहासिक आधार नामेट गर्छ र देशको अर्थतन्त्रमा गहिरो संकट आउँछ ।’
उखु किसानका माग निशर्त,अविलम्ब पुरा हुनुपर्ने बताउँदै उनीहरूले भनेका छन्,’उखु किसानहरू यही भदौ ८ देखि कृषि अनुदानको माग सहित माइतीघर मण्डलमा नारा लगाउँदै छन । तर विचौलियाहरुको पक्षमा उभिएको सरकार किसानका मागहरू नाराबाट पुरा गर्न तयार छैन । तर ७ कम्युनिस्ट पार्टी किसान आन्दोलनको पक्षमा दृढतापूर्वक उभिएको छ ।’
यही भदौ ११ गते श्री नामजाङ आधारभूत विद्यालय,आठराई – ७, तेह्रथुमका प्रधानाध्यापक तारादेवि खतिवडाले शिक्षिका एलिसा गहतराजविरुद्ध गरेको जातीय विभेदको घटना र व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यसले के सावित गर्दछ भने,जात व्यवस्था कायम छ र त्यसले ६० लाख दलितहरू एवं सिङ्गै नेपाली समाजलाई डसिरहेको छ । हामी त्यसको घोर विरोध र सशक्त प्रतिरोधका लागि दृढ प्रतिबद्ध छौं । यसैसाथ त्यसबारे गहिरो अनुसन्धान गरी संलग्नमाथि कानुनी उपचार गर्न सरकारलाई खबरदारी गर्दछौं । एलिसा गहतराज एवं सम्पूर्ण दलित समुदाय विरुद्ध भएको जातिय विभेदको विरोध गरौं ।
अहिले कमिसन र भ्रष्टाचार राज्य संचालनका मुख्य औजार बनेका छन । राज्यका सबै अंगहरुमा ति व्याप्त छन । हामी कमिसन र भ्रष्टाचारको क्यान्सर निर्मुलिकरण एवं जन – सुशासन कायम गर्न दृढ प्रतिबद्ध छौं ।

