फोक्टे डाँडामा १९ फिट उचाईको बुद्ध मुर्ति निर्माण गरिने
दावा जाङ्बु शेर्पा,काठमाडौं, ८ भदौ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १०, सेभेन समिट फाउन्डेसन USA तथा पिके टाप्टिङ सेवा समाजको संयुक्त आयोजनामा ‘फोक्टे डाँडा बुद्ध पार्क निर्माण महा-अभियान’सञ्चालन गरिने भएको छ।

धर्म संस्कृतिको संरक्षण तथा पत्ताले,जन्तरधाप हुँदै पिके पिकमा आन्तरिक तथा बाह्यय पर्यटन प्रबर्द्धनका निमित्त फोक्टे डाँडामा शान्तिका अग्रदुत भगवान बुद्धको १९ फिट उचाईको मुर्ति (सालिक) निर्माण गर्न महाअभियान संचालन गरिएको सोलुदुधकुण्ड नगरपालिका १० नं. वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिए।
समुन्द्री सतहबाट ४०६१ मिटरको उच्चाईमा रहेको पिके पिक एक पर्यटकीय र धार्मिक गन्तव्य भएको बताउँदै वडाध्यक्ष मगरले महा- अभियानमा जोडिन सर्वसाधारण,संघसंस्था,समाजसेवी तथा अन्य उच्च पदस्थ महानुभावहरूलाई सहकार्यका लागि आव्हान गरेका छन् ।
आन्तरिक तथा बाह्यय पर्यटकले सगरमाथा लगायत विभिन्न हिम शृङ्खलाको अवलोकन गर्न सकिने पिकेपिक पद यात्रा गर्ने क्रममा सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० को झाप्रे टाडपानी नजिकैबाट सोलुखुम्बु तथा ओखलढुंगा जिल्लाको सिमानामा फोक्टे डाँडा अवस्थित छ । समुन्द्री सतहदेखी २९ सय मिटरको उच्चाईमा रहेको यस स्थानबाट विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत ल्होत्से,मकालु, कञ्चनजंघा तथा विभिन्न हिमशृखलाहरुको अबलोकन गर्न सकिने मगरले बताए।

