लिपुलेकलाई ब्यापारिक मार्ग बनाउने चीन-भारत सहमतिप्रती विभिन्न सात कम्युनिस्ट घटकको आपत्ति



काठमाडौं,७ भदौ । चीन र भारत (इन्डिया) सरकारबीच नेपालका ऐतिहासिक र रणनीतिक भूमि लिपुलेक-कालापानीबाट व्यापारिक मार्ग खोल्ने भनि गरिएको सहमतिप्रति विभिन्न सात कम्युनिस्ट घटकहरुले असहमति र बिरोध गर्दै सशक्त विरोध प्रदर्शन र संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक वसन्त,श्रमिक जनता पार्टीका अध्यक्ष दुर्गा बराईली संघर्ष,समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य माधव गौतम विनय,ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका संयोजक मुक्ति,नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का महासचिव अरुण घिसिङ,नेकपा (विद्रोही)का प्रवक्ता प्रतिवाद र
नयाँ जनवादी मोर्चाका संयोजक शम्भु कट्टेलले शनिबार संयुक्त बिज्ञपति प्रकाशित गर्दै ऐतिहासिक तथ्य,अन्तर्राष्ट्रिय नक्साका आधारमा यो खुल्ला र स्पष्ट छ कि कालापानी र लिपुलेक नेपालका अविभाज्य अङ्गहरु भएको स्पष्ट पार्दै त्यसमाथि भारतीय पक्षले निरन्तर हस्तक्षेप र अतिक्रमण जारी राखेको प्रति गहिरो असहमति र विरोध रहेको उल्लेख गरेका छन् ।

चीन र भारतबीच लिपुलेक-कालापानीबाट व्यापारिक मार्ग खोल्ने सहमति हुनु हाम्रो राष्ट्रिय स्वाधीनता,सार्वभौमसत्ता र अखण्डता माथिको रणनीतिक हस्तक्षेप,निषेध र चोटपूर्ण कदम भएको उल्लेख गर्दै बिज्ञप्तिमा त्यसप्रकारको सहमतिको विरोध र प्रतिरोधमा उत्रन आम जनसमुदायमा हार्दिक अपिल गरिएको छ।

बिज्ञप्तिमा भनिएको छ,-‘हामी त्यसप्रकारको सहमतिप्रति तत्काल निम्न कार्यक्रम मार्फत गम्भीर असहमति र विरोध गर्दछौं । त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न चाहन्छौं । हामी नेपाल सरकारलाई प्रधानमन्त्री केपि शर्मा ओलिको आसन्न चीन र भारत भ्रमण स्थगन गरी नेपालको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको दृढ रक्षा गर्न र अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्न कदम चाल्न विशेष खबरदारी गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्