नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल
देउखुरी (दाङ), ७ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।

घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोख्रेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने बताए ।
‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोगका सन्दर्भमा नेपालकै सहमतिबिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालको सहमति र सहभागिताबिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ‘,उनले भने ।
सुगौली सन्धिको सीमानै वास्तविक सीमा भएको दाबी गर्दै उहाँले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए ।

