बिपदका घटनामा परेर चार महिनामा १३० जनाले गुमाए ज्यान



काठमाडौं,१ भदौ । पछिल्लो चार महिनामा विपद्का घटनामा देशभर १३० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ वैशाख १ गतेदेखि साउन मसान्तसम्म १३० जनाको मृत्यु भएको हो ।

विपद्का घटनामध्ये बाढीमा २१, पहिरोमा १६, भारी वर्षाका कारण चार, चट्याङ लागेर २९, सर्पदंशका कारण ११, आगलागीमा १५ जना, हावाहुरीबाट आठ, जनावरको आक्रमणमा १४ र लेक लागेर १२ जनाको मृत्यु भएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुुसार पछिल्लो चार महिनामा दुई हजार ८८१ वटा विपद्का घटनामा २२ जना बेपत्ता भएका छन् ।

विपद्का घटनामा पछिल्लो चार महिनामा ५९७ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ । विपद्का घटनाबाट पाँच हजार १४१ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

गत वर्ष सोही अवधिमा अर्थात् २०८१ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा चार हजार ३६ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा ३०५ जनाको मृत्यु, ४३ बेपत्ता, ६५६ घाइते र ६ हजार ९६३ परिवार प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्