गुरु पद्मसम्भवको जन्म दिवस र महाकाल जात्रा विविध धार्मिक कार्यक्रमसहित मनाइने
दावा जाङ्बु शेर्पा,काठमाडौं,१६ साउन। बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस ‘छेच्यु’ तथा बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा यस वर्ष पहिलो पटक विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै गुरु रिन्पोछेको जन्म दिवसको अवसरमा साउन १९ गते बिहान ९ बजेबाट बौद्ध महाचैत्य आसपासका विभिन्न स्थलहरू महाकाल, तीनचुली र घ्योइलिसाङ पोखरी(गुरु पार्क)मा विशेष पूजाअर्चना गरिने जनाएको छ ।
सोही दिन दिउँसो ३ बजे तीनचुलीबाट गुरु रिन्पोछेको प्रतिमासहित निकालिने,शोभायात्राले बौद्ध महाचैत्यको परिक्रमा गरेपछि गुरु रिन्पोछेको आठ लीला झल्काउने ‘गुरु छेड्गे छ्याम’ धार्मिक नृत्य प्रस्तुत गरिने छ । यसैबीच, महाकाल जात्राको परम्परागत थालनी गर्दै साउन २७ गते दुइ हाते महाकालको जात्रा पनि गरिने समितिले जनाएको छ ।
महाकालको पूजा लामा,बज्राचार्य र ब्राह्मण गुरुहरुद्वारा गरिनेछ । महाकालको प्रतिमालाई खटमा राखी रामहिटी,तीनचुली,बौद्ध, टुसाल,चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइनेछ ।
११ बजेदेखि सुरु हुने जात्रामा शार्दूल जंग गुल्म (गुरुजु पल्टन)ले हर्ष बढाइ कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । ।

