१० वटा नेपाली संस्थाले जापानमा ‘प्रथम नेपाल फेस्टिवल गुन्मा’ आयोजना गर्दै
दावा जाङ्बु शेर्पा,काठमाडौं,८ साउन । गुन्मा केनका १० वटा नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा “प्रथम नेपाल फेस्टिवल गुन्मा २०२५” भव्य रूपमा आयोजना गरिने भएको छ।

जापानमा रहेका नेपालीबीच एकता,सहकार्य र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिवल दुई दिनसम्म विविध कार्यक्रमसहित आयोजना गर्नलागिएको हो।
फेस्टिवलमा नेपाली सांस्कृतिक नृत्य,जातीय झाँकी,परम्परागत पोशाक,हस्तकला प्रदर्शनी,नेपाली खानाका परिकार तथा पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम समेटिने शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामा शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रमले मनोरञ्जनसँगै राष्ट्रिय गौरव र पहिचान उजागर गर्ने विश्वास आयोजकहरूको छ । आवासीय नेपाली संघ (NRNA) गुन्मा,शेर्पा संघ जापान तमू धी किता कान्तो,नेपाल मगर संघ जापान गुन्मा क्षेत्रिय समिति,राई यायोक्खा कान्तो,तामाङ समाज जापान किता कान्तो,सिन्धुली समाज जापान,रामेछाप समाज किता कान्तो, शेर्पा संघ जापान किता कान्तो,स्याङ्जा समाज किता कान्तो लगायत संस्थाहरूले फेस्टिवलमा मुल आयोजकको भूमिका निर्वाह गर्दैछन्।

