२८० बिरामीले लिए गतबर्ष सोलु दुधकुण्ड नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्सबाट सेवा



सोलुखुम्बु,९ साउन । सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डले गत आर्थिक बर्षमा जिल्लाभित्रका २८० जना बिरामी हरुलाई एम्बुलेन्स सेवा प्रदान गरेको जनाएको छ।

जिल्लामा एम्बुलेन्स सेवा नहुँदा आर्थिक रूपमा कमजोर बिरामीहरूले समयमै उपचार पाउन नसक्दा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्सबाट गत आर्थिक बर्ष सो संख्याका बिरामीहरुलाई सेवा प्रदान गरिएको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए।

शववाहनसहित चारवटा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको नगरपालिकाले बिरामीको अवस्था हेरेर निःशुल्क वा सहुलियत दरमा सेवा प्रदान गर्दै आएको नगरप्रमुख शेर्पाको भनाई छ ।एम्बुलेन्स सेवाले १७०० भन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको उल्लेख गर्दै नगर प्रमुख शेर्पाले भने,-‘गत आर्थिक वर्षमा मात्रै २८० जना बिरामीहरूले यो सेवा प्रयोग गरेका छन्।’

एम्बुलेन्स प्रयोग गर्ने मध्ये धेरैजसो सोलुदुधकुण्ड नगरवासी र त्यसपछि थुलुङ दुधकोशी,माप्य दुधकोशी र नेचासल्यान गाउँपालिकाका नागरिकहरू रहेको जानकारी उनले दिए । एक वर्षमा यति ठूलो संख्यामा सेवा दिन सक्नु सोलुखुम्बुवासीको जीवनरक्षाको दिशामा सुखद उपलब्धि भएको नगरप्रमुख शेर्पाको प्रतिक्रिया छ ।

यो सेवा बिरामीलाई फाप्लु,ओखलढुंगा मिसन तथा काठमाडौंका अस्पतालसम्म लैजान र उपचारपछि घर फर्काउनका लागि प्रयोग भइरहेको जनाउँदै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,- ‘धेरै बिरामीको ज्यान बचाउन यो सेवाले पुर्‍याएको सहयोगप्रति हामी सन्तुष्ट छौं।’

आगामी दिनमा यो सेवा झन प्रभावकारी बनाउँदै सोलुखुम्बुका सबै नागरिकले समयमै सहज र भरपर्दो स्वास्थ्य सेवामा पहुँच पाउन् भन्ने लक्ष्यसहित निरन्तर प्रयासरत रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्