विभिन्न बहानामा ठगी कार्यमा संलग्न चारजना पक्राउ
काठमाडौं,८ साउन । गृह मन्त्रालयको कर्मचारी हूँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।

गृह मन्त्रालयको कर्मचारी हूँ भन्दै झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागीर लगाई दिने आश्वासन दिलाई नागरकिताको फोटोकपी लगायका कागजातहरु माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुली समन्वयमा उनलाई सिन्धुली भिमान चोकबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परसिर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी,ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालकिा-२ घर भएका २३ वर्षीय बिशाल घिमिरे,काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर घर भएका २५ वर्षीय समीर सिंह र ललतिपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने सर्लाही कबिलासी नगरपालिका-९ सल्यानपुर घर भएका २६ वर्षीय अशोक कुमार बादव रहेका छन् ।
अमेरिका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख रकम आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्याई,प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गर्न लगाई अन्य ब्यक्तिहरुको बैंक खाताहरूमा स्थानान्तरण गरी/गराई सम्पर्कबिहीन भएको भन्ने पीडतिहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरुलाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

