शेर्पा सञ्चार समूहले ७ दिने उद्घोषण तालिम सञ्चालन गर्ने
दावा जाङ्बु शेर्पा काठमाडौं,६ साउन ।शेर्पा सञ्चार समूह नेपालले उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गर्ने भएको छ ।

सात दिने सो तालिम नेपाल शेर्पा संघको भवन नारायणटारमा सञ्चालन गर्न लागिएको संस्थाका महासचिव मिङ्मा शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार तालिम साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
संस्थाले शेर्पा समुदायको भाषा,कला र संस्कार संस्कृतिलाई संरक्षण तथा सम्बर्द्द्न गर्नुका साथै समुदायलाई पत्रकारिताको मुलधारमा ल्याउने उद्देश्यले विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा लाग्न चाहने व्यक्तिहरूलाई विभिन्न तालिम प्रदान गर्दै आएको छ ।
शेर्पा तथा नेपाली भाषामा उद्घोषण तालिम,समाचार लेखन र फोटो पत्रकारिता सम्बन्धी तालिम वार्षिक रुपमा सञ्चालन गर्दै आएको संस्थाका कार्यबाहक अध्यक्ष डोल्मा शेर्पाले बताउनुभयो ।
संस्थाले शेर्पा समुदाय रहेको जिल्लाहरूमा समेत संस्थाको शाखा विस्तार गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।संस्थाले सोलुखुम्बु, ओखुलढुङगा,खोटाङ,रामेछाप,ताप्लेजुङ र झापामा शाखा विस्तार गरि पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको संस्थाका महासचिव शेर्पाले बताउनुभयो ।

