एकीकृत समाजबादीमा भित्रिए बामदेब, तेस्रो बरियता पाउने



काठमाडौँ,२ साउन । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच एकता भएको छ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा यी दुईवटा संगठन एकीकृत भएको घोषणा गरिएको हो। एकता घोषणासभामा एकीकृत समाजवादीका नेताहरूले नेता गौतमलाई खादा लगाइदिँदै अँगालो हालेका थिए।

विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए।

लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो। एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा अध्यक्ष नेपालले कुनै हिसाबले पनि एमालेसँग एकता हुने भ्रम नपाल्न नेता तथा कार्यकर्ताहरूलाई भनेका हुन्।

अध्यक्ष नेपालले भने, ‘त्यहाँभित्रको अवस्था हामीले देखेका छौं। कसैको लसपस छ भने आसाअपेक्षा छ भने मेरो भन्नु केही छैन। तर यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नु हुन्छ भने उसका नेताको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ कि यो पार्टीलाई कसरी सिद्धयाउने, यो पार्टीलाई कसरी समाप्त पार्ने। त्यसका लागि कुन-कुन तरिका अपनाउने, कहाँ प्रहार गर्ने यी सबै कुरा उनीहरूले भनिरहेको गरिरहेकोबाट हामीले बुझिसकेको छौँ।’

पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरे। विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको जिकिर गर्दै उनले सो कुरा बताएका हुन्।

अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुनेमा उनले आश‌ङ्का व्यक्त गरे । आफूले चार वर्षदेखि नै वामपन्थी राजनीतिमा लागेको जिकिर गर्दै यस यात्रामा धेरै हण्डर ठक्कर खाएर आएकाले फहराएको झण्डालाई झुक्न नदिने सङ्कल्प गरेका थिए।

प्रतिक्रिया दिनुहोस्