एसईई उत्तीर्ण विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई थुलुङ दुधकोशीको सम्मान तथा पुरस्कार

सोलुखुम्बु,२६ असार । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका अन्तरगतका विद्यालय,शिक्षक तथा शैक्षिकसत्र २०८१ मा एसईई उत्तीर्ण विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई सम्मानित गरेको छ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिवार सम्पन्न कार्यक्रममा पालिका भित्र रहेका आधारभुत तहका ३८ विद्यालयलाई ल्यापटप वितरण गर्नुका साथै एसईई परीक्षामा ३.६० GPA देखि ३.७० GPA सम्म प्राप्त गर्नेलाई १० हजार, ३.७१ GPA देखि ३.८० GPA सम्म प्राप्त गर्नेलाई १५ हजार र ३.८१ GPA देखि माथी ३.९०GPA सम्म ल्याउनेलाई २० हजार नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए । २५७ जना विद्यार्थीमध्ये उत्तीर्ण भएका २५६ जनाले प्रमाणपत्र ७ जनाले १० हजार, ३ जनाले १५ हजार र एक जनाले २० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको उनले बताए।
पालिका प्रबक्ता कार्कीका अनुसार यस बर्ष जनकल्याण माध्यमिक विद्यालय जुबुका कुमार बस्नेत सर्बोत्कृष्ट प्रधानाध्यापक र कालिका देवि माध्यमिक विद्यालय पन्चनका प्रकाश थुलुङ उत्कृष्ट प्रधानाध्यापक तथा जनसेवा माध्यमिक विद्यालय लोखिम उत्कृष्ट विद्यालय घोषित भएका छन् । सर्बोत्कृष्ट भएका प्रधानाध्यापक बस्नेतलाई नगद २० हजारसहित सम्मान पत्र,उत्कृष्ट प्रधानाध्यापक थुलुङलाई नगद १५ हजारसहित सम्मानपत्र र उत्कृष्ट विद्यालय जनसेवालाई नगद २५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ।
कार्यक्रममा कर्तव्यनिष्ठताका साथ काम गर्ने प्रहरी चौकी मुक्लिका इन्चार्ज कमल बहादुर कटुवाललाई नगद ५ हजारसहित सम्मानपत्र र शैक्षिक विकासमा सहयोग गर्ने परियोजना रिड नेपाल, हिमालयन ट्र्ष्ट, हिमालयन कियार फाउन्डेसन, स्टेएड स्कुल,क्ला रुम इन्द क्लाउडसलाई सम्मान पत्र प्रदान गरिएको प्रबक्ता कार्कीले बताए।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले शैक्षिकस्तरलाई अझ माथि उकास्ने गरी निरन्तर लागि पर्न सरोकारवालाहरुलाई निर्देशन दिंदै पालिकाको शैक्षिक नीति अनुसार अहोरात्र खट्ने शिक्षक, प्रधानाध्यापक,व्यवस्थापन समिति,जनप्रतिनिधि सबैलाई धन्यवाद दिनुभयो।
शैक्षिकस्तर सुधारका लागि विद्यालयको आवश्यकता अनुसारको कार्यक्रम पहिचान भएकाले पालिका त्यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।

