‘कुलिङ पिरियड’मा जालझेल गर्नेलाई तुरुन्त हदैसम्मको कारबाही गर्नुपर्छ : कोइराला
काठमाडौं,१७ असार । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ‘कुलिङ पिरियड’मा जालझेल गर्नेलाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजानुपर्ने बताएका छन् ।

निजामती सेवा विधेयकमा ‘बाहेक’ शव्द थपेर कुलिङ पिरियड हटाउन झालझेल गरिएको बिषयले खैलाबैला मच्चिइरहेका बेला
मंगलबार (असार १७) बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोइरालाले लेखेका छन्-“कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम–कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।” सर्वसम्मतिबाट संसद्मा पेस गरिएको विधेयकमा ‘अनधिकृत’ रूपमा तोडमोड गर्न नहुनेमा उनले जोड दिएका छन् ।
विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको उनले टिप्पणी गरेका छन् । “सर्वसम्मतिबाट संसद्मा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान हो,” उनले भनेका छन् ।

