छाता ऐनबाट बिपी प्रतिष्ठानलाई अलग राख्न माग गर्दै धराने प्रतिनिधि मण्डल काठमाडौंमा




ईशा अधिकारी, काठमाडौ,१३ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान स्वरूपलाई समाप्त गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको आङ्गिक मेडिकल कलेज बनाउन लागेको विरोधमा प्रतिष्ठानको अस्तित्व र पहिचान बचाउने माग गर्न धरानबाट सर्वदलीय प्रतिनिधि मण्डल काठमाडौं आईपुगेको छ ।

सरकारले ३ वर्ष अघि संसद्मा लैजान तयार गरेको उक्त ऐनको मस्यौदा विधेयकबाट बिपी प्रतिष्ठानलाई झिकेर स्वायत्तता कायम गर्न दबाब सिर्जना गरिएपछि उक्त ऐन स्थगनको अवस्थामा राखिएको थियो । अहिले पुनःपुरानै मस्यौदालाई ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ को विधेयक सरकारले पुनः जस्ताको त्यस्तै संसद्मा दर्ता गराएपछि उक्त छाता ऐनबाट बिपी प्रतिष्ठानलाई अलग राख्न माग गर्दै दबाब सिर्जना गर्ने उद्देश्यले सर्वदलीय प्रतिनिधि मण्डल संंघीय राजधानी काठमाडौं आइपुगेको हो।

प्रतिनिधि मण्डलमा नेपाली काँग्रेस नगर सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ,नेकपा माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बु, मनोज भट्टराई, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ताजुब लिम्बु छन् ।

प्रमण्डलमा काठमाडौंमा रहेका सुनसरी–१ सांसद, राजनीतिक दलका नेताहरू, बुद्धिजीवीहरू सहभागी हुने काँग्रेस सभापति पोखरेलले बताए । उनका अनुसार प्रमण्डलले प्रधानमन्त्री केपी शर्मा ओली,स्वास्थ्य मन्त्री तथा पार्टी नेताहरूलाई भेट गरी छाता ऐनबाट बिपी प्रतिष्ठानलाई अलग राख्न माग गर्दै दबाब सिर्जना गर्ने बताईएको छ ।  

यसअघि बिपीलाई छाता ऐनमा समावेश गर्ने सरकारी नीतिको विरोधमा तत्कालीन धरान उपमहानगरपालिका मेयर तिलक राईले दलहरू सहित सर्वपक्षीय दबाब समूह बनाएर विधेयकलाई स्थगन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्