केन्द्रीय कार्यालय परिसर बिस्तार गर्न १३ करोडको घरजग्गा खरिद गर्दै काँग्रेस
काठमाडौं, १३ असार ।नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर बिस्तारका लागि थप घरजग्गा खरिद गर्ने भएको छ।

नेपाली कांग्रेस,केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडीपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने भएको हो।
मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता सम्पन्न भएको छ । ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी बुधबार महामन्त्रीद्वय गगनकुमार थापा,विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा सम्झौता सम्पन्न भएको उनले जानकारी दिए ।
सो जग्गा नेपाली कांग्रेसले १३ करोड रुपैयाँमा खरिद गर्न लागेको हो। पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने पौडेलद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ।

