कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा ३८ हजार जर्मनी सडकमा



काठमाडौं,१६भदौ। जर्मनीको राजधानी बर्लिनमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा ३८ हजार बढी मानिसहरुले प्रदर्शन गरेका छन् । सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा बर्लिनको ब्रेडनवर्ग गेटमा हजारौं मानिसको भिड देखिएको बीबीसीले जनाएको छ । प्रदर्शनमा सहभागी केहीले मात्र मास्क लगाएका थिए । साथै उनीहरुले भौतिक दूरीको नियम समेत पालना गरेका थिएनन् ।

प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रदर्शनमा ३० हजारभन्दा धेरै मानिस सहभागी भएका थिए । जर्मनी पनि कोरोनाबाट अत्यन्तै प्रभावित देश हो । जर्मनमा अप्रिल महिनाबाट सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको थियो । तर पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि कडा नियम लागू भएको हो । जर्मन चान्सलर एञ्जेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवानाको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्