गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता
पोखरा,१८ कार्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्ता गरेका छन् ।

पोखरामा भएको भेटमा राजदूत खान र मुख्यमन्त्री पाण्डेबीच नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ ।भेटका क्रममा गण्डकी प्रदेश र पोखरासँगको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप तथा व्यापारलगायतका क्षेत्रमा विस्तार गर्ने विषयमा छलफल भएको पाकिस्तानी दूतावासले जनाएको छ ।
राजदूत खानले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको मित्रता तथा दुवै देशको साझा सांस्कृतिक, बौद्ध र हिन्दू सम्पदाको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी, आमिर खान र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष उमराज बास्तोलाबीच नेपाल–पाकिस्तानबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ।
भेटका क्रममा दुई देशबीच व्यापारिक सम्बन्ध थप सुदृढ बनाउने, व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा सहकार्य बढाउने र द्विपक्षीय व्यापार विस्तार गर्ने सम्भावनाबारे छलफल भएको हो।त्यसैगरी दुवै देशको साझा आर्थिक हितका क्षेत्रमा सहकार्यका नयाँ अवसर पहिचान गर्ने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।
भेटमा नेपाल र पाकिस्तानबीच आर्थिक तथा व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै निजी क्षेत्रबीचको सम्बन्ध विस्तार गर्ने विषयमा जोड दिइएको थियो।


