रौतहटमा गोली प्रहारबाट युवक गम्भीर घाइते


गएराति करिब ९ः१५ बजे गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।
पेस्तोलबाट प्रहार गरिएको गोलीका छर्रा लागेर यादवको ढाड, दाहिने पाखुरा तथा दुवै खुट्टामा चोट लागेको छ। उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको बताइएको छ।
घटनापछि घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनास्थलमा प्रहरीले ७.६२ एमएमका पेस्तोलका तीनवटा खाली खोका फेला पारेको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा गोली प्रहारको कारण खुल्न सकेको छैन। घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको छ।


