काठमाडौंमा १२ लाख २९ हजार रुपैयाँसहित कौडा खेलिरहेका २१ जना पक्राउ

काठमाडौं,१८ कार्तिक । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार राति करिब ११ः१५ बजे प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पासिकोटस्थित दुईतले टिनको टहरामा छापा मार्दा उनीहरूलाई जुवाको खालबाट पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद १२ लाख २९ हजार ६ सय रुपैयाँ, ३३ थान कौडा, १७ बुक तास र २३ थान मोबाइल बरामद गरेको जनाएको छ । प्रहरीले जुवामा प्रयोग भएका सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा १६ पुरुष र पाँच महिला रहेका छन् । उनीहरू काठमाडौं, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, रसुवा, भक्तपुर, झापा र सुनसरीलगायत जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
जुवा खेलिरहेको स्थान बूढानीलकण्ठ नगरपालिका–४ निवासी ४१ वर्षीया प्रतिभा तिमल्सिनाले भाडामा लिएको कोठा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका २१ जनाविरुद्ध जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।


