इस्लामाबादस्थित नेपाली दूतावास पुगे पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री दार



इस्लामाबाद,२१ भदौ । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इशाक दारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री दारले आइतबार इस्लामाबादस्थित नेपाली दूतावास पुगेर बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्।शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले पाकिस्तान सरकार र जनता नेपाल सरकार तथा नेपाली जनतासँग दुःखको यस घडीमा दृढतापूर्वक साथमा रहेको बताएका छन्।

दारले जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रका मुलुकहरूलाई असमान र गम्भीर रूपमा प्रभावित गरिरहेको उल्लेख गर्दै यसका कारण जनजीवन, जीविकोपार्जन तथा भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगिरहेको बताएका छन्।
उनले बाढीपहिरोमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र अझै बेपत्ता रहेकाहरूको सुरक्षित उद्धारको कामना गरेका छन्।

नेपालको राहत, उद्धार तथा पुनःस्थापना प्रयासमा पाकिस्तानको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै उपप्रधानमन्त्री दारले प्राकृतिक विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न आवश्यक पर्ने सबै सम्भव सहयोग गर्न पाकिस्तान तयार रहेको बताएका छन्।

नेपालमा बाढी र पहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाकिस्तानले दुःख व्यक्त गर्दै नेपालसँगको ऐक्यबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्