चार मुक्तक

*टेकराज भट्ट

मुक्तक १
आस्था र बिश्वास खण्डहर भएको बेला
मान्छे मूर्ति तथा मूर्ति पत्थर भएको बेला
देवत्व हराएको सूचना आयो अचानक
खबर विचरो आफैं बेखबर भएको बेला
मुक्तक २
न डर शोक न पीर भोक न चिन्ता मनैमा
कहिले नदी तीरमा रम्थ्यौं कहिले बनैमा
न थियो रत्ति बन्धन कुनै न थियो उल्झन
स्वर्ग हो जस्तो आभाष हुने यो बालापनैमा
मुक्तक ३
विध्वंस जिते सृजना हार्छ नाशिन्छ चिनारी
पराई देख्छन् उचित मौका मासिन्छ चिनारी
धितोमा राख्दै गएमा रीति रिवाज हामीले
पुर्खाको नासो अमुल्य निधि ढापिन्छ चिनारी
मुक्तक ४
छनक पाएकै थिए उतिखेर ठूलै गल्ती गरियो
नसोध्नु सोधेर,सोध्नु नसोधेर, ठूलै गल्ती गरियो
निमोठिन्छन् भावनाका सुकोमल कोपिला पनि
काँडा रोज्नु पर्ने फूल रोजेर ठूलै गल्ती गरियो
*महेन्द्रनगर,कन्चनपुर

