चार मुक्तक

*मञ्जुश्री गिरी

मुक्तक १
कैचीले टुक्र्याउछ सियोले जोडेर जान्छ
रिसले रित्याउछ सम्बन्ध तोडेर जान्छ
खहरे केहीदिन मात्र हो लहर बोकेर घुम्ने
जो सधैं बगर भएर डोब छोडेर जान्छ !!
मुक्तक २
लालित्य भरेर सधैं तिम्रो आँखाको नानी बनें
एउटै लयमा गुनगुनाउने भाखाको बानी बनें
कमल मुस्कुराउछु , छर्किदेउ बिम्ब तिमी
क्यानभासमा रङ्ग भर खाकाको पानी बनें
मुक्तक ३
हत्याहिंसामा देश डुब्दा पनि कोही बोलेनन्
वंशनास भएका थिए नरेश कोही बोलेनन्
हाम्रै सामु देखादेखी हत्या हुँदा नि हाम्रो
आँखा चिम्लेर गै रहे परदेश कोही बोलेनन् !
मुक्तक ४
फूलहरु ओछ्याइ रहे तिमी हिड्ने बाटो भरी
मुस्कुराउँछ्न जून पनि उजेलिएर माटो भरी
सपना पनि बिपना जस्तो किन होला प्यारा !
कोइलीले जिस्काउँछ नबोल्दानि पाटो भरी
*विराटनगर

