राजाबादी आन्दोलनलाई प्रतिबन्ध लगाउने सरकारको संकेत
फाइल तस्वीर
काठमाडौ,८ जेठ । सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानविरोधी गतिविधि दोहोरिइरहने हो भने सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि १५ जेठदेखि घोषणा गरेको अनिश्चितकालीन आन्दोलनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सरकारका प्रबक्ता समेत रहेका मन्त्री गुरुङले त्यस्तो चेतावनी दिएका हुन्।मन्त्री गुरुङले शान्तिपूर्ण विरोधको अधिकारप्रति सरकार उदार रहेको तर सरकार संविधानविपरीतका गतिविधि स्वीकार्य नहुने बताए । ‘हामीले विरोध गर्ने अधिकार छुट दिएका छौँ, तर त्यसलाई हाम्रो कमजोरी ठान्न हुँदैन । हामी डराएर छुट दिएका होइनौँ’, उनले भने ।
सधैँ संविधानविरोधी गतिविधि दोहोरिइरहने हो भने सरकार चुप लागेर नबस्ने उनले दोहोर्याए । उनले हालसम्म सरकारले प्रदर्शनमा प्रतिबन्ध नलगाएको पनि स्मरण गराए । ‘संविधानअनुसार प्रतिबन्ध लगाउन सक्ने अधिकार भए पनि अहिले प्रयोग गरेका छैनौँ,’ उनले भने, ‘तर सधैँ संविधानविरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन । सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन ।’

