थुलुङ दुधकोशी अध्यक्ष राईद्वारा २१ बँदे परिमार्जित शैक्षिक स्वेतपत्र जारी

सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले परिमार्जित शैक्षिक स्वेतपत्र-२०८१ जारी गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईले आइतबार एक कार्यक्रमका बिच उक्त २१ बुँदे परिमार्जित शैक्षिक स्वेतपत्र जारी गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकामा चारदिनदेखि जारी समावेशी शिक्षा,अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि पालिकास्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीमा उक्त स्वेतपत्र जारी गर्दै पुर्णरुपमा कार्यान्वयन गर्न अध्यक्ष राईले सबैलाई निर्देशन दिनुभयो ।
उक्त समापन समारोहमा गत साल जेष्ठ २१ गतेदेखि लागु भएको थुलुङ दुधकोशी गाउँपालिकाको शैक्षिक श्वेतपत्रको उपलब्धी,समिक्षा तथा आगामी दिनहरूमा गाउँपालिकाको शैक्षिक क्षेत्र थप सुधार गर्न अध्यक्ष राईले “थुलुङ दुधकोशी गाउँपालिकाको परिमार्जित शैक्षिक श्वेत पत्र २०८१” समेत जारी गर्नुभएको हो । पालिकाले उत्कृष्ट प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई समेत पुरस्कारको ब्यबस्था गरिने भन्दै अध्यक्ष राईले त्यसको मुल्यांकनको आधार समेत श्वेतपत्र रहने बताउनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका र रिड नेपालको संयुक्त आयोजनामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ पदाधिकारी र प्रधानाध्यापकहरूको लागि समावेशी शिक्षा, अपाङगता तथा बाल सुरक्षा, सुशासन र व्यवस्थापन सम्बन्धी पालिकास्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी आयोजना गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केसब देव गिरिले जानकारी दिनुभयो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार कार्यक्रमको सहजीकरण रीड नेपालका प्रशिक्षक तथा सम्बन्धित विषय विज्ञ रामलाल धामी,गोकर्ण शर्मा,अभिषेक विक्रम शाह,लक्ष्मी श्रेष्ठ र अर्पण रेग्मीले गर्नुभएको थियो ।




