ई–पासपोर्ट उत्पादन बिस्तार, दैनिक साढे ६ हजार छपाई हुँदै



काठमाडौं, १३ साउन। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी सेवा प्रणालीलाई थप व्यवस्थित, छिटो, सुरक्षित र प्रभावकारी बनाउँदै लगिएको जनाएको छ। विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै राहदानी आवेदन, विवरण प्रमाणीकरण, उत्पादन तथा वितरण प्रक्रियामा निरन्तर सुधार गरिएको जनाएको हो।

विभागका अनुसार विगत केही वर्षयता ई–पासपोर्टको माग उल्लेख्य रूपमा बढेपछि उत्पादन क्षमता विस्तार गरिएको छ। हाल विभागले दैनिक करिब ६ हजार ५ सय विद्युतीय राहदानी उत्पादन तथा छपाइ गरिरहेको जनाएको छ। नयाँ प्रणाली सुरु भएको प्रारम्भिक चरणमा दैनिक करिब ४ सय राहदानी मात्र जारी हुने गरेकोमा अहिले उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको विभागको दाबी छ।

विभागले ई–पासपोर्ट सेवा देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, विभिन्न इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत उपलब्ध गराइरहेको जनाएको छ। आगामी दिनमा सेवाग्राहीको आवश्यकता र मागअनुसार सेवा विस्तार तथा प्रणालीलाई अझ सुदृढ बनाउने योजना रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्नु, वैदेशिक रोजगार, अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या निरन्तर वृद्धि हुनुका कारण राहदानीको माग पनि बढेको विभागको भनाइ छ। विशेषगरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउनेको चाप पनि बढेको जनाएको छ।

विभागले बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तारसँगै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगसँग समन्वय गरी सेवा प्रवाहलाई सहज बनाएको जनाएको छ। आधुनिक प्रविधिमा आधारित नयाँ प्रणालीमा देखिएका केही प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गरिरहेको र आगामी दुई महिनाभित्र प्रणालीलाई थप स्थिर बनाउने लक्ष्य रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

सेवाग्राहीले राहदानी प्राप्त गर्न अनावश्यक कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ। साथै, अत्यावश्यक सरकारी कागजात भएकाले वैदेशिक रोजगार, अध्ययन, उपचार, पारिवारिक तथा अन्य अत्यावश्यक प्रयोजनका लागि तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ।

राहदानी विभागले ई–पासपोर्ट सेवामा देखिएका समस्या समाधान र सेवा प्रवाहमा थप सुधारका लागि निरन्तर काम भइरहेको जनाउँदै, प्रणाली स्थिरीकरणको अवधिभर अत्यावश्यक अवस्थामा मात्रै राहदानीका लागि आवेदन दिन सेवाग्राहीसँग अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्