३० लाख रुपैयाँ घुस डिल गरेको आरोपमा पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही सिफारिस
पोखरा,१ कार्तिक । पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुस डिल गरेको आरोपमा पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही सिफारिस गरेको छ ।

गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाही गर्न नेकपा (एमाले) गण्डकी संसदीय समितिले सिफारिस गरेको हो ।
एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूले पदीय मर्यादा र पार्टीको विधानविपरीत काम गरेको निष्कर्ष निकालिएको छ ।
समितिले प्रतिवेदन संसदीय दलका नेता खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको छ ।
पार्टी विधान, प्रदेश सभा संसदीय दलको विधान र मन्त्री बन्नुअघि हस्ताक्षर गरिएको आचारसंहिता उल्लंघन गरेको भन्दै दुवै जनामाथि कडा कारबाही गर्न सिफारिस गरिएको हो ।
पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमसँग घुस डिल गरेको विषय सार्वजनिक भएपछि एमाले र गण्डकी प्रदेश सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए ।


