नेपाललाई करिब नौ अर्ब अनुदान दिने चीनको घोषणा,राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो
बेइजिङ।चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिचको भेटका क्रममा सीलाई नेपाल भ्रमणको निम्तो दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाठको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनिया राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले आमन्त्रण गरेका हुन् । निमन्त्रणाका लागि धन्यवाद दिँदै सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।
सोमबार चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । ओली यही मंसिर २० गते नेपाल फर्किने छन् ।

